आजदेखि सोह्र श्राद्ध सुरु, के के गर्न हुँदैन ?

धर्मिक

काठमाडौ l आजदेखि सोह्र श्राद्ध सुरु भएको छ। भाद्र शुक्ल पूर्णिमाको दिनदेखि औँशीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो।

सोह्र श्राद्धमा पितृहरूको उद्दारका लागि घर वा तीर्थस्थलमा श्राद्ध कर्म गरी पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन रहेको छ ।

जोतिषशास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षलाई पितृ पक्ष मानिएको छ । पितृहरूका लागि वर्षको दुई पटक श्राद्ध अर्थात् पिण्डदान गरिन्छ । यसअनुसार आश्विन कृष्ण पक्ष पितृ पक्षमा पर्ने तिथिका दिनमा तीन पुस्तासम्मका पितृ, मावलीतर्फ र फूपुहरूलाई समेत गरिने श्राद्धलाई महालय भनिन्छ भने एउटा मात्र पितृका लागि गरिने श्राद्धलाई एकोतिष्ट श्राद्ध भनिन्छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ ।

पितृहरू दिवंगत भएको वार्षिक तिथिमा अझ औँशीको दिनमा विशेष गरेर पितृका नाममा दान गर्ने, तर्पण दिने, पूजा गर्ने, यज्ञ गर्ने धार्मिक प्रचलन रहेको छ । सोह्र श्राद्धमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन् । जसलाई पूर्वजको मृत्यु तिथि थाहा हुँदैन, उनीहरूले औँशी तिथिमा श्राद्ध गर्ने मान्यता रहेको छ ।

सोह्र श्राद्धको अवधिभर घरमा तामसी भोजन, माछा–मासु वा कुनै मादक पदार्थको सेवन गर्न र मांगलिक तथा शुभकार्य गर्नसमेत बर्जित गरिएको छ । श्राद्धभन्दा एक दिन अगाडि नङ, कपाल आदि काटेर एक छाक मात्र सात्विक भोजन गर्ने गरिन्छ । यस दिनलाई बोलीचालीमा ‘एक छाकी’ पनि भन्ने गरिन्छ ।

श्राद्धका दिन तथा सोह्र श्राद्धको पूरा अवधिभर घरमा तामसी भोजन (माछा–मासु, मदिरा, लसुन, प्याज) आदिको सेवन र संसर्ग गर्नुहुँदैन । त्यस्तै, मसुरोको दाल, लौका, चिचिन्डो, बैगुन, कोदो, तीते फापरलगायतका खाद्यवस्तुहरुको प्रयोगसमेत बर्जित छ । हलो जोत्नु, कोदालो खन्नु, दाउरा काट्नु, नाचगान गर्नु आदि पनि श्राद्धका दिनमा निषेध गरिएको छ ।

श्राद्धमा रातो रङको कुनै पनि वस्तुको प्रयोग निषेध गरिएको छ । तुलसी, भृङ्गराज, सयपत्री, अगस्त्यपुष्प आदि फूलहरू भने प्रयोग गर्न सकिन्छ । तर, केत्तकी, करबीर, बकुल, कुन्दक र रातो रङका अन्य फूलहरू भने प्रयोग गर्नुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *